महेन्द्रनगर १३ साउन । लगातरको वर्षाले उत्पादन घटेपछि महेन्द्रनगर बजारमा तरकारीको मूल्य एकाएक बढेको छ । केही तरकारीको मूल्य दोब्बरसम्म बढेको स्थानीय उपभोक्ता बताउँछन् । फर्सी, लौका, करेला, घिरौला आदिको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । केही दिनअघिसम्म प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइरहेको फर्सीको मूल्य १ सय २० रुपैयाँ पुगेको छ । लौका पनि प्रतिकिलो ३० रुपैयाँसम्म बढेर ८० रुपैयाँसम्म बिक्री भइरहेको छ । ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको करेला र घिरौलाको मूल्य ८० देखि सय रुपैयाँसम्म पुगेको छ । ‘अहिले त तरकारी छोइनसक्नु छ,’ महेन्द्रनगरका स्थानीय गणेश चन्द भन्छन्, ‘एक दिनमै मूल्य अकासिएको छ ।’ अहिले आलु र मुलाको समेत भाउ बढेको छ । वर्षात्मा जहिल्यै मूल्य बढ्ने गरेको उनको गुनासो छ ।

‘वर्षाले उत्पादन घटेको छ, माग बढेको छ,’ महेन्द्रनगर सब्जी मन्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनार भन्छन्, ‘लहरे तरकारीको उत्पादनमा निकै ह्रास आएको छ ।’ उनका अनुसार साउन सुरुदेखि भइरहेको लगातारको वर्षाका कारण लहरे तरकारीको उत्पादन घटेको हो । एक÷दुई दिन वर्षा रोकिए फेरि उत्पादन बढेर मूल्य घट्ने उनको भनाइ छ । महेन्द्रनगर बजारमा खपत हुने लौका, फर्सी, घिरौलालगायतका लहरे तरकारी स्थानीय उत्पादनले नै थेग्दै आएको छ । आलु र मुला पहाडी जिल्लाबाट भित्रिन्छ । भारतबाट पनि केही मात्रामा तरकारी आउने गरेको छ । सब्जी मन्डी व्यवसायी संघका अनुसार अहिले मन्डीमा दिनमा २० क्विन्टलको हाराहारीमा मात्रै तरकारी आउने गरेको छ । ‘अहिले दैनिक ४०÷५० क्विन्टल तरकारी आवश्यक पर्छ,’ अध्यक्ष सोनार भन्छन्, ‘पहाडबाट आउने तरकारी पनि वर्षाकै कारण कम भएको छ ।’ तरकारी उत्पादनलाई वर्षा र तापक्रम दुवैले प्रभावित पार्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंह बताउँछन् ।

उनका अनुसार तापक्रम बढी भएमा रोग कीराको प्रकोप हुने र नियमित वर्षा भए पनि फूल लाग्ने फल नलाग्ने समस्या आउने गर्छ । ‘अहिले पनि नियमितको वर्षाले उत्पादन कम भएको हो,’ सिंह भन्छन्, ‘लौका, फर्सी र काँक्रा फल्नै पाएको छैन, केही ठाउँमा रोग कीराको प्रकोप पनि देखिएको छ ।’ भदौदेखि नयाँ उत्पादन आउने भएकाले त्यति बेलासम्म केही अभावसँगै मूल्य वृद्धि हुन सक्ने सिंह बताउँछन् । अहिले भारतबाट आयात हुने तरकारीको परिमाणसमेत घटेको छ । पहाडी जिल्लाकै भरमा महेन्द्रनगरको तरकारी बजार चलेको छ ।

प्रतिक्रिया दिनुस