फाइल ।

महेन्द्रनगर १९ साउन । कञ्चनपुरमा पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक देखा परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोग देखा परेको हो । पशुको शरीरभरि ठूलठूला गिर्खासँगै घाउ देखिन थालेपछि किसानले नगरपालिकाको पशु शाखामा खबर गरेका थिए ।

पशु शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार कञ्चनपुर जिल्लामै पहिलो पटक लम्पी रोग देखा परेको हो । रोग देखिएको गाउँमा भट्टको नेतृत्वमा टोली परिचालन भएको छ । सरुवा रोग भएकाले अरु पशुमा संक्रमण फैलिन नदिनका लागि किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे बताउने कार्य भैरहेको जनाए । हालसम्म ६ जना किसानका दुई दर्जनभन्दा बढी पशु रोगबाट प्रभावित भएका छन् । गाई, गोरु र बाच्छा बाच्छीमा रोगको संक्रमण देखा परेको छ ।

गाई गोरुको पुरै शरीरभरि ठूलठूला गिर्खा देखा परेका छन्। शरीरका विभिन्न भागमा घाउ समेत देखिएका छन्। मुखबाट फिज निकाल्ने, शरीर तातो हुने र नाकबाट सिंगान बग्ने लगायतका लक्षण समेत देखिएका छन् । रोग भारतीय गोरुहरुबाट फैलिएको आशंका स्थानीय बासिन्दाले गरेका छन् । भारतीय व्यापारीहरुले गाई गोरु खरिद गरी भारततर्फ लैजाने र भारतबाट गाई गोरु ल्याउने भएकाले यसबाटै रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

रोगको निदानका लागि गाई गोरुको ओसारपसार र बेचविखनको कार्य रोक्नु जरुरी रहेको पशु शाखाका अधिकृत नारायणदत्त भट्ट बताउँछन् । यस्तै‚ गाई गोरुलाई चरनमा लैजाने कार्य समेत बन्द नहुँदा सम्म संक्रमण रोक्न कठिन रहेको उनको भनाइ छ । लम्पी स्किन रोग विशेष गरी लामखुट्टे‚ झिङगा (स्टोमोक्सीस), किर्ना आदिको टोकाइबाट सर्ने पक्स भाइरस समूहको लम्पी स्किन डिजिज भाइरसबाट सर्ने रोग हो ।

प्रतिक्रिया दिनुस