बैतडी १९ साउन–मौसममा आएको परिवर्तनसंगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् ।

जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी बिरामीहरु आउने गरेका अस्पतालका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए । उनले भने,‘केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामी मध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।’

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । उनले भने,‘स्वास्थ्य चौकीमा आउने बिरामीहरु मध्ये धेरै ज्वरो र रुघाखोकीका छन् ।’ मौसम आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसंगै ज्वरोका बिरामी बढेका डा। जोशीको भनाई छ । ‘निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भिडभाड बढ्यो, मास्क लगाउनेको संख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन् ।’ उनले भने,‘मौसम परिवर्तन भएको छ, निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।’

वर्षातको समयमा पानीका मूहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा। जोशीको आग्रह रहेको छ । साथै निषेधाज्ञा खुकुलो भएसंगै भिडभाड बढेको, मास्क र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।
यस्तै व्यक्तिगत र वातावरणीय सरसफाईमा पनि बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुस