दार्चुला,२५ साउन । दार्चुलाको महाकाली नदिमा वेपत्ता भएका जयसहि धामीको खोजी गर्न ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुकालेर महाकालीमा वेपत्ता भएका धामीको शव खोजी कार्य जारी राखिएको छ । नेपालतिर सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन भने भारतबाट भारतीय एसएसबीले महाकाली नदी छेउछाउ खोजी कार्य जारी राखेका छन् । घट्नाको नजिकबाट थप अध्ययन गर्न सकेसम्म शव भेट्टाउन खोजे भने प्रमाण थप बलियो हुने छानबिन समितिको विश्वास छ । व्यास गाउँपालिका २ मालदेखि महाकाली नगरपालिकाको खलंगा क्षेत्रसम्म सुरक्षाकर्मीले निरन्तर खोजी कार्य जारी राखेको छ । समितिले एक पटक ड्रोन क्यामरामार्फत जयसिहको खोजी गर्ने बताएको हो ।

साउन १९ गते खलंगा पुगेको छानबीन समिति अहिले पनि दार्चुलामै छ । सरकारले अझै जयसिहको खोजी गर्न समितिलाई निर्देशन गरेपछि ड्रोन क्यामराको प्रयोग गरेर भए पनि महाकाली किनारमा जयसिहको खोजी गरिने समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले बताए । सशस्त्र प्रहरीले बाइनाकुलर लगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र बमले बताए । ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ ।

छानबीन समिति संयोजक गौतमले भने, अझै हामी वेपत्ता जयसिहको अवस्थाबारे खोजी गर्छौ । समितिले अहिले पनि बयान लिने, सोधपुछ गर्ने कार्य गर्दै छ ।’ गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घट्नास्थल निरीक्षण गरि फर्किएको टोली निरन्तर प्रतिवेदन लेखन र सोधपुछ कार्यमा व्यस्त रहेको छ । साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ । व्यास गाउँपालिका २ मालघाट देखि सदरमुकाम खलंगासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिईन् ।

सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

प्रतिक्रिया दिनुस