बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ। तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।

यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मकरूपले लिएको र सङ्घीय सरकारले सःशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो। विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सङ्घर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए। अहिले नगरपालिकाका प्रमुख केशवबहादुर चन्द नगरबाहिर रहेका र उनी आउनेवित्तिकै सङ्घर्ष समितिसँग बसेर छलफल गर्ने, वार्ता भएको एकरदुई दिनभित्रै कार्यपालिकाको बैठक बोलाएर माग सम्बोन्धन गर्न सहमति भएपछि ताला खोलिएको महराको भनाइ छ।

सङ्घीय सरकारले बजेट भाषणका बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भए पनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले उनीहरुले तालाबन्दी गरेका हुन्।

प्रतिक्रिया दिनुस