भारतबाट घर फर्किने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किनेलाई गत विहिबार देखी खोप दिन लागेको हो ।
सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार पहिलो डोज नाकामा लगाएकाहरूका लागि दोस्रो डोज भने सम्बन्धित पालिकामै पाउनेछन् । गड्डाचौकी नाकाबाट अहिले दैनिक दुई÷अढाई सय जना भित्रिने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म गड्डाचौकी नाकामा ३ सय ७५ जनालाई अस्ट्राजेनेकाको खोप लगाइएको छ ।
पछिल्लो समय भारतबाट घर फर्किनेहरूमा पनि संक्रमणको दर कम भएको छ । दुई÷तीन सय जनाको एन्टिजेन परीक्षण गर्दा १÷२ जनामा मात्र संक्रमण देखिने गरेको छ । कुनै दिन एक जनामा पनि संक्रमण देखिँदैन । ‘परीक्षणसँगै नाकामै खोप पनि लगाउन थालेपछि संक्रमणको जोखिम न्यून हुँदै जान्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, ‘तेस्रो लहर रोकथामका लागि यसले सहयोग पु¥याउनेछ ।’
दोस्रो लहरका बेला भारतबाट फर्किनेलाई सामान्य स्वास्थ्य परीक्षणसमेत नगरी घर पठाउँदा सीमा क्षेत्रका जिल्लामा संक्रमणको अवस्था भयावह बनेको थियो । कञ्चनपुरमा मात्रै कोरोना संक्रमणका कारण वैशाखयता १ सय ७५ जनाको मृत्यु भएको छ । जबकि पहिलो लहरका बेला १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।