महेन्द्रनगर– महेन्द्रनगरमा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योग सञ्चालनमा आएको छ । बुधबार भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्टले उक्त उद्योगको उद्धघाटन गरे। कञ्चनपुरको बेल्डाँडीका तिन दाजुभाइ सन्तोष सुनार, दिनेश सुनार र नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन ।

उनिहरुले एक बर्ष अघि भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योग खोलेर व्यवसाय शुरु गरेका थिए । करिब बर्षदिन नपुग्दै उद्योगको स्तरबृद्धि गरेका छन । अहिले भीमदत्त नगरपालिका ४ भाँसी महेन्द्रनगरमा ब्रह्मा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योगबाट बस्तु उत्पादन शुरु गरेका छन । ५० लाख लागतमा स्थापना गरिएको उक्त उद्योग उच्च आधुनिक प्रविधीयुक्त कञ्चनपुरको पहिलो उद्योग भएको प्रबन्ध निर्देशक दिनेश सुनारले बताए ।

‘यस्तो प्रकृतिको उद्योग यस अघि सुदूरपश्चिममा हाम्रो मात्रै थियो, ‘उनले भने, ‘अहिले कैलालीमा एक खुलिसकेको छ, कञ्चनपुरका लागि यो पहिलो नै हो ।’ उनका अनुसार दैनिक १५० सम्म झ्याल ढोका उत्पादन भईरहेका छन । ‘हामी तीन दाजुभाई मिलेर काम गरिरहेका छौँ, ‘उनले भने, ‘साईला दाजुले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गरिरहेको छौँ ।’

ग्रामिण भेगका हुर्किएका युवाको मेहनत, आँट र कर्मको मेयर बिष्टले प्रंससा गरेका छन । युवाशक्ति विदेश पलायन भन्दा यसरी सिकेको सीप र श्रमको सदुपयोग गर्दै आर्थिक समुन्नततर्फ उन्मुख हुनुपर्नेमा उनले जोडदिए । मेयर विष्टले युवा पुस्ताले सीप, श्रम, प्रविधी, पूँजी र बजारको खोजी गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्नेमा सुझाव दिदै नगरपालिकाको तर्फबाट युवा उद्यमका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

तीनै दाजुभाई गाँउकै सामुदायिक रौलेश्वर उच्च माविमा अध्ययन गरेका थिए । सानैदेखि मेहनती भएका कारण उनीहरु दाजुभाई मिलेर उद्योग संचालन गरेका छन । उद्योग संचालनमा आएसंगै ८ जना स्थानीयले रोजगारी पाएका छन । जर्मनी प्रविधीबाट झ्याल र ढोका निर्माण गरिने प्रबन्ध निर्देशक सुनारले बताए । उद्योगमा उत्पादन भएको बस्तु सूदूरपश्चिम प्रदेशभरी खपत भईरहेको बताउदै उनले निकट भविष्यमै थप सेवा विस्तार हुने बताए । ‘म वैदेशिक रोजगारीमा थिए, ‘उनले भने, ‘त्यहाँ सिकेको सीप आफ्नो मातृभूमिमा प्रयोग गरिरहेको छु ।’ कोरोना महामारीका कारण स्वदेश फर्किएका नरेशले दुई दाजुभाईसंग मिलेर उद्योग संचालन गरेका हुन ।

प्रतिक्रिया दिनुस