१६ भदौ, काठमाडौं । नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । खेलको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०बाट अनुमति प्राप्त भइसकेको बताए ।
उनले बुधबार मात्रै दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको र करीब ५ हजार १ सय दर्शक प्रवेश गराउने योजना रहेको बताए । ‘दर्शक प्रवेशका लागि सीसीएमसीबाट अनुमति सहितको पत्र प्राप्त भएको छ । ५ हजार १ सय दर्शकलाई प्रवेश अनुमति दिने योजना छ,’ शेर्पाले भने, ‘कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका वा पीसीआर नेगेटिभ रिपोर्ट भएका दर्शकलाई प्रवेश अनुमति दिइनेछ ।’
उनले रंगशाला प्रवेशका लागि ५ वटै गेट खुल्ला रहने पनि जानकारी दिए । शेर्पाले सरकार र फिफा एएफसीले तोकेको सबै मापदण्ड पूरा गरेर खेल सञ्चालन गर्ने बताए । खेल हेर्नका लागि अनलाइनबाट टिकट किन्न सकिने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एन्फाका उपाध्यक्ष तथा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहले आयोजनाका सबै तयारी पूरा भइसकेको बताए । ‘हामीले सबै प्रकारको सुरक्षा सावधानीका लागि तयारी पूरा गरिसकेका छौं । हामी सरकारले तोकेका सबै स्वास्थ्य आचारसंहिताको पूर्ण पालना गर्नेछौं ।’ साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतबीच बिहीबार र आइतबार गरी दुई मैत्रीपूर्ण खेल हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे शुरु हुनेछ ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुनेछ ।