– हस्तबहादुर केसी
“ हाम्रा पार्टी संगठनहरु अवश्य पनि देशरि फिंजाउनु पर्दछ र हामीले निश्चित उद्श्येका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सबै नेताहरुलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुर्ण भएका , राजनीतिक रुपले दूर्दर्शी , काममा खुप सिपालु , त्यागको गहिरो भावनाले भरिएका , आफै अघि सरेर समस्याहरुसंग जुध्ने कुशलता भएका , अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने , राष्ट्र , सर्वहारा वर्ग र पार्टीको सेवा गर्ने बफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धका निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता , नेताहरु स्वार्थीपनाबाट , व्यक्तिवादी शुर्याई र आडम्बरबाट , आलश्य र उदासीनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनु पर्दछ र उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योध्दा हुनुपर्छ , हाम्रो पार्टीका सदस्य , कार्यकर्ता , नेताहरुमा हुनुपर्ने गुणहरु र कार्यशैली यस्तै हुन्।
– माओ त्सेतुङ, जापानी आक्रमण विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमूहलाई आफूपट्टि तान ,( मे ७ , १९३७ )
कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुमा विश्वदृष्टिकोण हुनका लागि पार्टी स्कुलिङको आवश्यकता पर्दछ । माक्र्सवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको र मुक्तको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा कार्ल माक्र्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा प्रतिपादित भई विकसित भएको हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । भौतिकवाद यस दर्शनको सिध्दान्त हो भने द्वन्द्ववाद यस दर्शनको पध्दति हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
माक्र्सवाद र माक्र्सवादी दर्शन विश्व सर्वहारा वर्ग अर्थात् कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुको संसारलाई बुझ्ने र त्यसलाई बदल्ने विश्वदृष्टिकोण हो ।
त्यसो भएर कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले माक्र्सवाद र माक्र्सवादी दर्शनको गहन अध्ययन गर्न र त्यसलाई आत्मसातिकरण गर्न जरुरी हुन्छ । माक्र्सवाद पढ्नु मात्रै ठूलो कुरा होइन , मुख्य कुरा त्यसलाई बुझ्ने गरि पढ्नु ठूलो कुरा हो । माक्र्सवादका अर्थात् माक – लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तको गहन अध्ययन गर्न र वैज्ञानिक ढंगले जीवन व्यवहारमा लागु गर्न जरुरी हुन्छ । जसले यसलाई बैज्ञानिक ढंगले बुझ्दछ , त्यसरी अध्ययन गर्दछ , जीवन व्यवहारमा वर्गसंघर्षमा भाग लिएर खरो रुपमा आफूलाई जनताका बीचैमा उतार्दछ , त्यसले मात्र विश्वदृष्टिकोणमा आफूलाई रुपान्तरण गर्न सक्दछ । माक्र्सवादको सच्च्याँई हो । यो नै क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरु मालेमावाद प्रदान शिक्षा हो ।
जुन व्यक्तिले आफूलाई विश्वदृष्टिकोण निपुण र पारङ्गत बनाउन सकेको हुन्छ , उसले नै आफूलाई संसारलाई चिन्न सक्ने , बुझ्न सक्ने र बदल्न सक्ने सामर्थ्य प्राप्त गर्दछ । हामीले जानकारी राख्नुपर्ने मुख्य कुरा के हो भने रहेक व्यक्ति , क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसका नेता – कार्यकर्ताका लागि विश्वदृष्टिकोण नै केन्द्रीय महत्वको विषय हो । समाज , वर्ग , राज्यसत्तालाई सही तरिकाले बुझ्न , सञ्चालन गर्न र रुपान्तरण गर्नका लागि विश्वदृष्टिकोणको भूमिका नै प्रमुख हुन्छ । जस्तो कि विश्वदृष्टिकोण वैज्ञानिक र भौतिकवादी छ भने वस्तु र घटना परिघटनाहरुलाई सही तरिकाले बुझ्न र बदल्न सकिन्छ । साथै विश्वदृष्टिकोण अवैज्ञानिक र अवस्तुवादी छ भने विचार – वस्तुलाई गलत तरिकाले बुझिन्छ र गलत तरिकाले बदल्ने कोसिस गरिन्छ ।आज सारा वैज्ञानिक तथ्यहरुले हामीलाई यो कुरा बताउँछन् कि माक्र्सवादी – लेनिनवादी – माओवादी विश्वदृष्टिकोण नै विश्व जगत वर्गसंघर्ष र सत्तालाई बुझ्ने र बदल्नेमा आजसम्मकै वैज्ञानिक र सर्वश्रेष्ठ विश्वदृष्टिकोण हो ।
यी तथ्यहरुको सारभूत शिक्षा के हो भने माक्र्सवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले विश्वदृष्टिकोण प्राप्त गरिसके पछि मात्र आजभन्दा १७३ वर्ष पहिले कम्युनिस्ट लिग मार्फत् कम्युनिस्ट घोषणापत्र जारी गर्नुभएको थियो । जस्तो कि जर्ज विल्हेल्म हेगेल ( १७७० – १८३१ ) को आदर्शवादी द्वन्द्ववाद , लुडविक फायरवाख ( १८०४ – १८७२ ) को अधिभूतवादी भौतिकवाद , काण्टको अज्ञेयवादी आदर्शवाद र प्रुँधो – बाकुनिनको अराजकतावादी व्यक्तिवाद विरुद्ध भीषण वैचारिक संघर्षका बीचबाट द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको संश्लेषण गरेपछि मात्र माक्र्स – एंगेल्सले यी सिध्दान्तहरुलाई जीवन – व्यवहारमा लैजान कम्युनिस्ट घोषणापत्र जारी गर्नुभएको थियो । यहानिर स्पष्ट पार्न खोजिएको कुरा के हो भने विश्वदृष्टिकोणमा स्पष्ट भए पछि मात्र माक्र्स – एंगेल्सले कम्युनिस्ट लिगको तर्फबाट उक्त कम्युनिस्ट घोषणापत्र लेख्नुभएको थियो ।
अर्को कुरा माक्र्सले सन १८४१ मा आफ्नो विद्यावारिधि ( पी . एच . डी ) नै “ एपिक्युरियन र डेमोक्रिटियन प्रकृति दर्शन बीच भिन्नता “ लेखेर गर्नुभएको थियो । संसारमा पहिलोपटक माक्र्सले नै धर्म र दर्शनबारे बहस चलाउनु भएको थियो र सन १८४४ मा माक्र्सले “हेगेलको कानुन दर्शनमा आलोचनाको योगद “ शीर्षकको प्रसिद्ध आलेखमा धर्मको आलोचना गर्दै धर्म सम्बन्धि संश्लेषण गर्नु भई “ सबै प्रकारका धर्महरु जनताका लागि अफिम नै हुन् “ भन्नू हुँदै “ ईश्वरले मानिसको सृष्टि गरेको होइन , बरु मानिसले ईश्वरको सृष्टि गरेको हो “ भन्ने संश्लेषण गरेर “ धर्म भनेको भ्रम हो “ भन्दै यसको चिरफार गर्नुभएको थियो । पछि लेनिनले धर्मलाई “ फलहीन फूल “ संज्ञा दिनुभएको थियो ।
यहाँनीर भन्न खोजेको कुरा के हो भने माक्र्स – एंगेल्स – लेनिन – माओहरु विश्वदृष्टिकोणमा परिपक्व भए पछि मात्र माथि उल्लेख गरिएका विषयहरुमा वैज्ञानिक संश्लेषण गर्न सफल हुनु भएको थियो ।
यहाँ अरु थप स्पष्ट पार्न खोजिएको विषय के हो भने संसारलाई बुझ्न र त्यसलाई बदल्न आँट गरेर कम्युनिस्ट पार्टीका सदस्य बनेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका नेता – कार्यकर्ताहरु विश्वदृष्टिकोणमा स्पष्ट भएको हुनुपर्छ र अब्बल दर्जाका क्रान्तिकारी भैरहनाका निम्ति पार्टी स्कुलिङ मार्फत् मालेमावादका आधारभूत सिध्दान्तहरुले आफूलाई लैस बनाई राख्न जरुरी हुन्छ । यी गहन विषयहरुको ज्ञान आर्जन गर्न एउटा क्रान्तिकारीका लागि पार्टी स्कुलिङको आवश्यकता पर्दछ । आफ्ना कार्यकर्ताहरुको यही इच्छा र आवश्यकता पूरा गराउनका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले “ पार्टी स्कुलिङ “ को व्यवस्था गर्दै आएका छन् । यस्को थालनी लेनिन , माओ , हो चि मिन्ह , किम इल सङ आदिले गर्नुभएको हो । नेपालमा पनि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) पार्टी स्कुल विभाग खडा गरेर आफ्ना नेता – कार्यकर्ताहरुलाई मालेमावादका आधारभूत सिध्दान्त ( माक्र्सवादका तीन संघटक अंग – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ) विषयहरुमा स्कुलिङ गर्दै आएको छ ।
पार्टी स्कुलिङ भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता – कार्यकर्तारुलाई मालेमावादका आधारभूत सिध्दान्तहरुमा निपुण गराउनु भएकोले यसको क्षेत्र अध्ययन गर्ने अंग हो ।
अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । विगतका ज्ञानहरुलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधि गर्नुलाई अध्ययन भनिन्छ । यसलाई मालेमावादी अध्ययन पध्दति भनिन्छ । अध्ययन गर्ने मूलतः दुईवटा पध्दति रहेका छन् :
(१) अधिभूतवादी अध्ययन पध्दति
(२) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पध्दति
(१) अधिभूतवादी अध्ययन पध्दति
जुन कल्पना , विचारका आधारमा निरपेक्ष ढंगले अध्ययन गरिन्छ , जसबाट प्रमाण र वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचार शृङ्खलाको आधारमा निचोड निकाल्ने गरिन्छ यश अध्ययन पध्दतिलाई अधिभूतवादी अध्ययन पध्दति भनिन्छ । यो पध्दति आत्मपरक चिन्तन पध्दति हो । यसको सम्बन्ध वस्तुगत यथार्थसंगत नभएर कोरा काल्पनिक ईश्वरीय चिन्तन प्रणालीमा आधारित हुन्छ । यो “ जे गर्छन् सबै ईश्वरले गर्छन् “ भन्ने चिन्तनशील विचारधाराशीत सम्बन्धित हुन्छ । त्यसैले यो अध्ययन पध्दति आदर्शवादीहरुले अवलम्बन गर्दै आएको अध्ययन वध्दति हो । यसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी र कम्युनिस्ट क्रान्तिकारीहरुले खारेज गर्दै आएका छन् ।
(२) वैज्ञानिक ( द्वन्द्ववादी ) अध्ययन पध्दति
वैज्ञानिक अध्ययन ( वैज्ञानिक अनुसन्धानात्मक ) नै वैज्ञानिक ( द्वन्द्वात्मक ) अध्ययन पध्दतिको मूल आधार हो । वैज्ञानिक ( अनुसन्धानात्मक ) पध्दतिको विकास वैज्ञानिक चार्ल्स डार्विनबाट भएको हो । यो प्रायोगिक अनुसन्धान पध्दति हो ।यो पध्दति विज्ञानका क्षेत्रमा मात्र नभएर दर्शनशास्त्र , अर्थशास्त्र , समाजशास्त्र लगायत सम्पूर्ण विषयमा प्रयोग गरिने वैज्ञानिक विधिको रुपमा रहेको छ
मालेमावाद एक वैज्ञानिक सिध्दान्त भएकोले वैज्ञानिक ( द्वन्द्वात्मक ) अध्ययन पध्दति माक्र्सवादी अध्ययन पध्दति अर्थात् द्वन्द्वात्मक भौतिकवादी पध्दति नै वैज्ञानिक ( द्वन्द्वात्मक ) अध्ययन पध्दति हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी कम्युनिस्टहरूले अवलम्बन गर्दै आएको अध्ययन पध्दति पनि यही नै हो । यसलाई नै वैज्ञानिक माक्र्सवादी अध्ययन पध्दति भनिएको हो । यही अध्ययन पध्दतिबाट नै पार्टी स्कुलिङ मार्फत् क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले विश्वदृष्टिकोण प्राप्त गर्ने साधन प्राप्त गर्दछन् ।
मालेमावादी पार्टी स्कुलिङका अध्ययन दुईवटा तरिका रहेका छन् :
(१) स्वअध्ययनको तरिका
(२) पार्टी स्कुलिङको तरिका
(१) स्वअध्ययनको तरिका
स्वअध्ययनको तरिका अध्ययन गर्ने पहिलो र अतिमहत्वपूर्ण तरिका हो । जो बढी जिज्ञाषु छ , जसले बढी भन्दा बढी नयाँ नयाँ चीजको खोजी गर्ने , त्यसबारे गहिरो गरि अध्ययन गरेर नयाँ नयाँ निश्कर्ष निकाल्ने कोसिस गर्दछ , त्यसलाई स्वअध्ययनले ठूलो मद्दत गर्दछ । यस भौतिकजगतमा विगतदेखि अहिलेसम्म जो ठूला ठूला वैज्ञानिक , अण्वेषक र अनुसन्धानकर्ताहरुले नयाँ नयाँ चीजहरुको पत्ता लगाएका छन् , आविष्कार गरेका छन् , उनीहरूले पहिलो नम्बरमा स्वअध्ययनलाई जोड दिएका छन् । यसका लागि भित्री तथा बाह्य वातावरण निर्माण गर्ने पाटो भने अलगअलग हुन सक्छ । अर्थात् जो संसारभरका प्रकृति वैज्ञानिकहरुले जुन ठूला ठूला वैज्ञानिक खोज र आविस्कार गरेका छन , ती महान् कार्य सफल पार्नका लागि स्वअध्ययनलाई प्राथमिकता दिएको पाइन्छ ।
साथै ठूला ठूला दार्शनिक तथा विद्वानहरुले पनि नयाँ नयाँ सिध्दान्तको खोजी र प्रतिपादन गर्ने महान् कार्यमा स्वअध्ययनलाई बढी जोड दिएको पाइन्छ । वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स – फ्रेडरिक एंगेल्सले पनि माक्र्सवादको प्रवर्तन गर्ने महान् कार्य सम्पन्न गर्ने कार्यमा पनि स्वअध्ययनलाई जोड दिएको हामीले पाउँछौं । किनकि त्यतिबेला पार्टीको त निर्माण नै नभएको पार्टी स्कुल खडा हुने कुरै भएन ।
विश्व सर्वहारा वर्गका अन्य नेताहरु लेनिन , स्टालिन , माओ , हो चि मिन्ह , किम ईश सङ , चे ग्वभारा , फिडेल क्य्रास्त्रो , गोनजालो आदिले विश्वलाई चिन्ने , बुझ्ने र बदल्ने विषयमा र माक्र्सवादको ज्ञान – भण्डारणलाई समृद्ध पार्ने महान् कार्य सम्पन्न गर्न अर्थात् लेनिनवाद – माओवादको प्रतिपादन गर्न र मालेमावादलाई विचार विकासको सवालमा र त्यसलाई लागु गर्ने महान् कार्य सम्पन्न गर्न र अन्य ज्ञान आर्जन गर्ने कार्यमा स्वअध्ययनलाई नै प्रमुख साधन बनाउनु भएको हामी पाउँछौं । हामीहरु आफैले पनि हाम्रो ज्ञान भण्डारलाई फराकिलो तुल्याउनका लागि स्वअध्ययनलाई बढी जोड दिइरहेका हुन्छौं ।
यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने नयाँ नयाँ विषयहरुमा जो बढी जान्न र बुझ्नका बढी जिज्ञाषु भैरहन्छ , उसले नै स्वअध्ययनको माध्यमबाट नै ृआफ्नो ज्ञान– भण्डारलाई समृद्धशाली बनाउन समर्थ हुन्छ ।
(२) पार्टी स्कुलिङको तरिका
क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र ती पार्टीहरुका क्रान्तिकारी नेता – कार्यकर्ताहरुले माक्र्सवादग – लेनिनवाद – माओवादको अध्ययन गर्ने , संसारलाई बुझ्ने र बदल्ने कार्यमा अध्ययन गर्ने सवालमा अध्ययन पध्दतिको दोस्रो तरिका वा माध्यम भनेको पार्टी स्कुलिङको तरिका हो ।
पार्टी स्कुलिङको यो तरिका बढी प्रयोगात्मक र व्यवहारिक दुबै खालको नै हुन्छ । विगतदेखि अहिलेसम्म पनि विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पार्टी स्कुलिङ विभाग खडा गरेर वा अन्य निकायहरू खडा गरेर त्यसकै माध्यमबाट , अध्ययनका निश्चित पाठ्यक्रम र पाठ्य सामाग्रीहरु निर्माण गरेर आफ्ना नेता – कार्यकर्ताहरुलाई विश्वदृष्टिकोण निर्माण गर्ने , गराउने काम गर्दै आएको हामीले पाउँछौं ।
पहिलो नम्बरमा लेनिनले र त्यस पछि माओले पार्टी स्कुल खडा गर्नु भएको हामीले पाउँछौं । सर्वहारा वर्गका अन्य नेताहरुले पनि आफ्ना नेता – कार्यकर्ताहरुलाई अब्बल दर्जाका क्रान्तिकारी बनाइराख्नका निम्ति पार्टी स्कुल खडा गरेर स्कुलिङ गरेका थिए । चीन र उत्तर कोरियाका कम्युनिस्ट पार्टीहरुले अहिलेसम्म पनि व्यवस्थित रुपले पार्टी स्कुलिङको व्यवस्था गरेर स्कुलिङ सञ्चालन गरिरहेका छन् ।
नेपालमा पनि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले पनि पार्टी स्कुल विभाग खडा गरेको छ । स्कुलिङका लागि पाठ्यक्रम तयार पारेको र पाठ्य सामाग्री समेत तयार पार्दै गरेको अवस्था छ । र पार्टी स्कुलिङ सञ्चालन गर्दै आएको छ ।
आज नेपाली कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी संशोधनवाद नवसंशोधनवादमा पुगेर नवप्रतिक्रियावादमा पतन हुन पुगेको धारा छ भने अर्कोतिर माक्र्सवाद – लेनिनवाद – माओवादलाई पथप्रदर्शक सिध्दान्तलाई अंगिकार गर्दै आएको क्रान्तिकारी धारा छ । र, दक्षिणपन्थी संशोधनवादी धाराले क्रान्तिकारी मालेमावादमाथि भिषण हमला बोल्दै माक्र्सवादको तोडमोड र भ्रष्टिकरण गरेर ठूलो भ्रम सृजना गरिरहेको छ । नामधारी नक्कली कम्युनिस्टहरुले आम नेपाली जनताका बीचमा व्यापक रुपमा भ्रमको खेती गरिरहेको छ । यसले क्रान्तिकारी खेमाका कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुमा भ्रम पार्दै आएकोले उनीहरूको विश्वदृष्टिकोणमा कालो बादल लगाउँदै आएकोले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका नेता – कार्यकर्ताहरुमा विश्वदृष्टिकोण निर्माण र विश्वदृष्टिकोणमा रुपान्तरण गर्न , गराउनका लागि पार्टी स्कुलिङको अति ठूलो महत्व रहेको छ। र , पार्टी स्कुलिङको आवश्यकता हिजो पनि थियो , आज पनि रहेको छ र भोलि पनि महत्व र आवश्यकता भइरहन्छ ।
हाम्रो देश अहिलेसम्म पनि अर्ध सामन्ति र नवउपनिविशिक अवस्थामै छ। महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा भएको छैन । महान् नेपाली नयाँ जनवादी क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद मुख्य बाधकका रुपमा खडा हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराले यस प्रकारको नवसंशोधनवादी विचारलाई ध्वस्त नपारिकन महान् नेपाली नयाँ जनवादी क्रान्तिका कार्यभारहरुलाई पुरा असंभव हुन्छ । यसलाई पराजित गर्नका लागि वैचारिक , सैध्दान्तिक रुपले खारिएका अब्बल दर्जाका नेता , कार्यकर्ताहरुको आवश्यकता पर्दछ । यस प्रकारको खाँचो पार्टी स्कुलिङले एकहदसम्म पुरा गर्न सक्तछ । त्यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टीका निम्ति पार्टी स्कुलिङको आवश्यकता भई नै रहन्छ ।
( लेखक नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) पार्टी स्कुल विभागका सचिव हुन् ।)