सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या ४ लाख नाघेको छ। सामाजिक विकास मन्त्रलायको तथ्यांकअनुसार ६ लाख १ हजार १५ जनाले पहिलो मात्रा र ४ लाख १ हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन्।
मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन्। कैलालीका १ लाख ५५ हजार ५ सय १० जनाले पूर्णखोप पाएका हुन् भने बाजुराका ७ हजार २ सय १३ जनाले पूर्ण खोप लगाएका हुन्। यस्तै, कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार ३ सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४ सय ४८ र डडेल्धुराका १२ हजार १ सय ६२ जनाले पूर्ण खोप पाएका हुन् ।
यहाँका नागरिकलाई कोभासिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो। प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ। सुदूरपश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै कोरोनाभाइरसविरुद्धको अभियान सुरु गरिएको थियो। प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले लगाएका हु्न्।