महेन्द्रनगर । कञ्चनपुरमा नेपाल कम्युनिट पार्टी (विप्लव) समूहका कार्यकर्ता सामूहिक माछापालन तर्फ लागेका छन् । जिल्लाको सुक्लाफाँटा नगरपालिकाका कार्यकर्ता पार्टीको खर्च धान्नका लागि सामूहिक माछापालनमा संलग्न भएका हुन् । दुईवटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछापालन व्यवसाय सुरु गरेका छन् । नगरपालिकाको वडा नं ४ मा १६ कठ्ठा क्षेत्रफलमा फैलिएका दुई पोखरीमा माछापालनका लागि तीन हजार भुरा छाडिएको छ।

‘माछापालन गरेबापत दुईवटै पोखरीको वर्षको रु ४० हजार भाडा दिने सम्झौता गरेका छौं’ पार्टीका नगर इन्चार्ज धनबहादुर रानाले भने, ‘माछापालन व्यवसाय अगाडि बढाउनका लागि खटिएका छौं।’ पार्टीले चन्दा संकलनको कार्यलाई सहायक र सामूहिक उत्पादनलाई मुख्य बनाएपछि उत्पादन प्रणालीमा पार्टी कार्यकर्तालाई जोडेर लैजाने कार्य भइरहेको उनले बताए।

उनका अनुसार माछापालन कार्यका लागि ४० जना कार्यकर्ताको समूह निर्माण गरिएको छ। पोखरी व्यवस्थापन गर्ने, चारोको व्यवस्था गर्ने र बजारमा लगेर बिक्री गर्नका लागि अलग(अलग टोली निर्माण गरिएका छन्। माछापालनका लागि तोकिएको कार्य पार्टीका कार्यकर्ताले पालो मिलाएर काम गर्दै आएका छन्।

माछापालनमा खटिने कार्यकर्तालाई पारिश्रमिक र पोखरी व्यवस्थापनका लागि केही रकम राखेर बाँकी रकम पार्टी सञ्चालनका लागि खर्च गर्ने योजना बनाइएको छ। यसैगरी, शुक्लाफाँटा नगरपालिका ८ पिल्लरीफाँटामा दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक आलु खेती गर्ने योजना बनाइएको छ। नगर इन्चार्ज रानाले त्यसका लागि जग्गाको व्यवस्था भइसकेको बताए। आउदो हिउँदमा आलु खेतीको कार्यलाई अगाडि बढाइने बताइएको छ। व्यावसायिक आलु खेती गर्नका लागि पार्टीका ५५ जना कार्यकर्ताको समूह निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुस