महेन्द्रनगर । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका सम्पूर्ण विद्यालय कञ्चनपुर र डोटीमा आइतबार (आज) देखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने प्रशासनले जनाएको हो ।
यसअघि सुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दे आइतबार देखी स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरी विद्यालय भौतिकरुपमा सञ्चालन ल्याउन पाउने निर्णय गरेको थियो । डोटीमा पनि विद्यालय खुल्न अनुमति दिइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले कोरोना जोखिम नभएका कारण विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका जनाए ।
निमित्त प्रजिअ जोशीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरूप यहाँका स्थानीय तहका शिक्षा समितिले एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।
कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक स्थानीय तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा विकास कार्यालयले जनाएको छ । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याका आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न÷गराउन प्रशासनले सबैमा अनुरोध गरेको छ ।