काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् ।

तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा उनको जोड छ । राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन् । उनले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छन् ।

यस्तै, उपराषट्रपति नन्दबहादुर पुनले पनि हरितालिका तीजको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गरेका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुस