शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान(वाच टावर) निर्माण गरिएका छन्। तराई भू-परिधि कार्यक्रमको आर्थिक सहयोगमा बिभिन्न ५ स्थानमा मचान निर्माण गरिएको निकुञ्जले जनाएको हो ।

नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए। “निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मचान निर्माण गरेका छौँ”, चौधरीले भने, “निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले अवैधरुपमा छिरेर वन्यजन्तु, चरा, माछालगायतको चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ।”

निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ पोष्ट निर्माण गरिएका छन्। निकुञ्ज कार्यालयका १५ पोष्ट रहेका छन्। नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिकरुपमा वन्यजन्तु र काठ तस्करी रोक्न गस्ती गरिने गरिएको छ।

प्रतिक्रिया दिनुस