बैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिका–२ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिका अन्र्तगत रहेका सबै सरकारी कार्यालय, गैर सरकारी संस्थामा बिदा हुनेछ।
निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ। यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि सुरु हुने यो जात्रा भाद्र शुक्ल पूर्णीमाका दिन समापन हुने गर्दछ। यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहेको छ। जात्रामा बली दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए। यो जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ।
जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थीहरू आउने गर्दछन्। यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको बोहराले बताए। यहाँ वर्षमा चार पटक भव्य मेला लाग्ने गर्दछ। असोज र चैतको अष्टमीमा अष्टमी मेला, मंसिर शुक्ल पूर्णिमामा जमानी जात्रा र भाद्र शुक्ल चतुर्दशीमा जात्रा लाग्ने गर्दछ। असोज र चैतको अष्टमीको जात्रामा बली हुने भएपनि जमानी जात्रा र अनन्त चतुर्दशीमा भने बली दिने चलन रहेको छैन्।