
काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न नेपाली काँग्रेस पार्टीको वडास्तरीय अधिवेशन लोकतान्त्रिक प्रक्रिया र पद्धतिअनुसार नै भएको पाइएको छ। सो निर्वाचनको वैधानिकता र प्रक्रियाका सम्बन्धमा सार्वजनिक गरिएको प्रचार ‘सुनियोजित अफवाह’मात्र भएको निर्वाचन समितिको ठहर छ। काँग्रेस जिल्ला कार्यसमिति सचिव हेमराज चटौतका अनुसार अमरगढी नगरपालिका–५ र नवदुर्गा गाउँपालिका–३ बाहेकका ५० वटा वडामा लोकतान्त्रिक अभ्यासअनुरूप सहमति र निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो।
सचिव चटौतले भने, ‘डडेल्धुरा प्रधानमन्त्री एवम् पार्टी सभापतिको गृहजिल्ला भएकाले पनि लोकतान्त्रिक प्रणालीअनुसार सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्नु सबैको दायित्व हो, वडाधिवेशन सम्पन्न भइसकेको अवस्थामा वैधानिकतामाथि प्रश्न उठाउनुको कुनै अर्थ छैन।’ डडेल्धुराका नौवटा वडाबाहेक प्रायः सबैमा सर्वसम्मत ढङ्गले वडाध्यक्षसहित कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्। वडाधिवेशनमा ७५ देखि ९८ प्रतिशत क्रियाशील सदस्यको उपस्थिति रहेको दाबी सचिव चटौतको छ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    