सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टीम छनोट गरिएको छ । जिल्लाभरबाट आएका खेलाडीको १ दिने छनोट प्रतियोगिता सञ्चालन गरी टीम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । ९ जनालाई छनोट गरी टीम बनाइएको हो ।

छनोट भएका खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन चन्द, मनोज चन्द, गोविन्द साउँद, श्याम दयाल, गम्भीर साउँद, लक्ष्मण भट्टराई र विकास विष्ट रहेका छन् । वैकल्पिक खेलाडीमा सुरज कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई र दीपक विष्ट छनोट भएका छन् । प्रशिक्षकका रूपमा हरिसिंह भण्डारी र टीम व्यवस्थापकका रूपमा तर्कराज जोशी रहेका छन् ।

छनोट गरिएमा खेलाडी जिल्लाभित्रकै, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवद्ध नभएका र छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने रहेका जनाइएको छ । छनोट भएका खेलाडीलाई बिहीवारदेखि ४ दिने प्रशिक्षण दिइन लागिएको छ । छनोट भएको जिल्लाको टीमले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना प्रदेशस्तरीय छनोट प्रतियोगिता धनगढीमा असोज २० देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

छनोट प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गरेका १२ खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइने छ ।

प्रतिक्रिया दिनुस