डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो । यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हो । डोटीमा कोरोना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा हटेसँगै अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ।

निर्माण सम्झौताको अवधिभित्रै अस्पताल निर्माण गरिसक्ने योजनासहित काम अगाडि बढाइएको कम्पनीका सञ्चालक तेजबहादुर पालले बताए । उनले भने,भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, रोकावट केही छैन, हामी सम्झौतामा उल्लेखित मिति भित्र काम सक्छौँ ।

वैशाखमा शिलान्याससँगै अस्पताल निर्माणको काम सुरु गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन । यस अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए । उनले भने, काम तीव्र गतिमा अगाडि बढेको छ, महिना दिनमै १५ प्रतिशत काम भएको छ, अब समयमै काम सम्पन्न हुने आशा छ ।

यस अस्पतालको भवन दुई तलाको हुने उनले बताए । निर्माण कम्पनीसँग अस्पताल भवन दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पर्मानन्द शर्माले जानकारी दिए । आफ्नै नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण हुन थालेपछि स्वास्थ्य सेवा लिन टाढा जानु नपर्ने भन्दै यहाँका नागरिक निकै खुशी भएका छन् ।

स्थानीय लक्ष्मी मल्ल भन्नुहुन्छ​, ुनगरपालिकाभरिमा अस्पताल नहुँदा सामान्य बिरामी पर्दा पनि दिपायल, राजपुर वा सिलगढीका अस्पताल धाउनु पर्थ्यो। अब घरैमा सुविधा सम्पन्न अस्पताल बन्दैछ, हामी खुशी छौँ ।

आधारभूत अस्पतालसँगै स्वास्थ्यकर्मी र कर्मचारीका लागि आवास गृह र अन्य संरचनाका लागि स्वास्थ्य मन्त्रालयसँग आह्वान गरिएको नगर स्वास्थ्य शाखा प्रमुख हरिष शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुस