भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव घरमै नजरबन्दमा परेका छन् । उनको घर बाहिर ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले आइतबार लखिमपुर खिरीमा मन्त्रीका छोराले किसानहरुको भीडमा गाडीले हानेर ८ जनाको हत्या गरेपछि सो क्षेत्र अशान्त छ ।
यादवले आफू सोमबार लखिमपुर खिरी जाने घोषणा गरेका थिए । उनले सोमबार बिहानै पार्टी कार्यालयमा वरिष्ठ नेताहरुलाई बोलाएका थिए । तर त्यसअघि नै प्रहरीले उनलाई घरमै नजरबन्द गरेको हो । लखिमपुरमा भएको घटनाको विरोधमा आज केही नेताहरु त्यहाँ जाँदैछन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले लखिमपुर जाने बताएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘लखिमपुरमा किसानमाथि भएको व्यवहार अक्षम्य छ । म एक किसान हुँ । किसानको दुःख सम्झिन सक्छु । यो कठिन अवस्थामा उनीहरुसँग उभिनका लागि लखिमपुर जानेछु ।’ राष्ट्रिय लोकदलका जयन्त चौधरी पनि सोमबार लखिमपुर जाँदैछन् ।यसैबीच घटनाको विरोधमा आज भारतीय किसान युनियनले देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।