सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डालाई अन्तिम रुप दिने तयारी गरेको छ । हिजो बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुङ्याएको थियो । हिजोको सहमतिलाई अन्तिमरुप दिएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ ।

हिजो साँझै मन्त्रिपरिषद विस्तार गर्ने भनिएतापनी मन्त्रीको नाम टुङ्गो लाग्न नसक्दा विस्तार हुन सकेन । आज साँझ सम्म टुङ्गो लगाएर सके आजै नभए भोलीसम्म मन्त्रिपरिषदलाई पुर्णता दिने प्रधानमन्त्री देउवाले तयारी थालेका छन् । शीर्ष नेताहरुबीच भएको छलफल अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कुल ८ वटा मन्त्रालय पाउनेछ । अहिले गृह, परराष्ट्र र कानून मन्त्रालय लिइसकेको उसले अब सञ्चारसहित पाँच वटा मन्त्रालय लिनेछ । कांग्रेसले पाउने सबै मन्त्रालय टुंगो लागेपछि मन्त्रीबारे आज दलमा छलफल गर्दैछ । अर्थ र उर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा कुल ५ वटा मन्त्रालय परेको छ ।यस्तै एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने समान चाररचार मन्त्रालय पाउनेछन् ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने लगभग टुंगो लागेको नेताहरु बताउँछन् । कुन मन्त्रालयमा को जाने भन्ने बिषय टुङगो लगाउन नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको नेता मेटमणी चौधरीले जानकारी दिए । नेकपा एसले उपसभामुख पनि पाउने बताइएको छ । नेकपा एसले उपसभामुखमा रामकुमारी झाक्रीलाई पठाउने तयारी गरेको छ । २९ असारमा प्रधानमन्त्री बनेका देउवाले दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले पाँच मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुस