बैतडी । बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको प्रहरीले जनाएको हो ।

पुर्चौडी नगरपालिका १ कुडीखेत टोलका सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवनगरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीहरुमाथी हातपात गरेको भन्ने उजुरी आएको बैतडी प्रहरीले जानकारी दिएको छ । कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौच र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दिपेन्द्र बहादुर धामीले बताए ।

स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको स्वास्थ्यचौकी इन्चार्ज धामीले बताए ।  हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट दिपेन्द्र बहादुर धामीलगायत ४ जनाले धुनसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन् ।

कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गाली गलैच गरेको बुझिएको प्रहरी बताउँछ ।
४ जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए।  उनले भने,‘ हातपात र गालीगलौच गरेको भनेर ४ जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घटना के हो,के कारणले घटना भयो भन्ने खुलेको छैन, दुबै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।’

हातपात र गाली गालैच गर्ने धनुसे भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस