नवरात्रको चौथो दिन। नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्।
कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।
नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक-एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।
देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।