काठमाडौं- नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल ‘डाटा’कै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन । नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २ करोड २८ लाख ४८ हजार मोबाइलमा इन्टरनेट खोलिन्छ । जबकि देशभर ३ करोड ८४ लाख ५१ हजार मोबाइल प्रयोगकर्ता ९सिम० सक्रिय छन् । अर्थात् करिब १ करोड ५६ लाख ३ हजार सिममा इन्टरनेट सेवा ‘एक्टिभ’ छैन ।

प्राधिकरणका अनुसार जनसंख्याको अनुपातमा ७६।०३ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् । एकै व्यक्तिसँग धेरै सिम हुने, ग्रामीण क्षेत्रमा राम्रो इन्टरनेट नचल्ने र सामान्य साक्षर रहेका व्यक्तिले मोबाइल डाटा प्रयोग नगर्ने लगायतका कारण अझै ठूलो संख्यामा सिममा ‘मोबाइल डाटा’ एक्टिभ नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

नेपालमा सबभन्दा धेरै थ्रिजी सेवा प्रयोगकर्ता छन् । एक करोड २८ लाख मोबाइल प्रयोगकर्ताले थ्रिजी सेवा लिएका छन् । थ्रिजीमा एक करोड १० लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट २४ लाख ६२ हजार प्रयोगकर्ता दर्ता छन् । यसैगरी फोरजीका ९९ लाख ५४ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ५० लाख ४२ हजार प्रयोगकर्ता नेपाल टेलिकमको मात्रै छन् । एनसेलसँग जम्मा ७४ लाख ४४ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमसँग पनि एक लाख ६६ हजार फोरजी प्रयोगकर्ता छन् । मोबाइल ब्रोडब्यान्डमा ई–भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् ।

जनसंख्याभन्दा धेरै प्रयोगकर्ता !

२०७८ असारबाट नेपालमा इन्टरनेटका ग्राहकको संख्या देशको जनसंख्याभन्दा माथि उक्लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा इन्टरनेट ‘सस्क्राइबर’ को संख्या तीन करोड १० लाख ८३ हजार पुगेको छ । यो संख्या नेपालको कुल जनसंख्याभन्दा करिब ३ प्रतिशत बढी हो ।

एकै व्यक्तिले दोहोरोरतेहेरो रुपमा फरक–फरक सेवा प्रदायकबाट सेवा लिइरहेको तथ्यांकका कारण खासमा कति प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् भन्ने यकिन भने छैन । सबै कम्पनीका ग्राहकको संख्या फरक–फरक किसिमले जोड्दा ग्राहक संख्या जनसंख्याभन्दा धेरै देखिएको प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल बताउँछन् । तर, वास्तवमै कति जनता इन्टरनेटको पहुँचमा छन् भन्ने यकिन भने नभएको उनको भनाइ छ ।

फैलिँदै फाइबर नेट

नेपालमा केबल र फाइबर इन्टरनेट सेवा दिने करिब ४४ वटा कम्पनी छन् । महामारीपछि तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले ग्राहक संख्या विस्तार गरेका छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करिब ७८ लाख ८७ हजार छ । २०७७ वैशाखसम्म यस्तो प्रयोगकर्ताको संख्या ५१ लाख ८१ हजारमात्रै थियो । दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुने अनुमानमा यस्तो तथ्यांक राखिन्छ ।

पछिल्लो सयममा युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्ने संस्कृति बढेकाले पनि इन्टरनेटको प्रयोगकर्ता थपिएको आइस्पानको निष्कर्ष छ । अरूबाट पासवर्ड लिएर काम चलाएकाहरूले पनि पछिल्लो समयमा आफैँ इन्टरनेट जोडिरहेका छन् । पछिल्लो वर्षमा गाउँसम्म पनि इन्टरनेट सेवा पुगिरहेको छ । नेपाल टेलिकम र एनसेलको गाउँसम्म मोबाइल डेटा सेवा प्रभावकारी बनाएकाले पनि इन्टरनेट प्रयोगको क्रम बढाउन मद्धत पुगेको दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुस