-धनन्जय अवस्थी, महेन्द्रनगर । सुदूरपश्चिममा बाढीपहिरो तथा डुबानबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । आइतबारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो बाट सुदूरपश्चिमका बिभिन्न जिल्लामा गरी शुक्रबार सम्म मृत्यु हुनेका संख्या ३३ पुगेको प्रहरीले जनाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका अनुसार बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी क्षती बझाङमा भएको छ । प्रहरी कार्यालयका अनुसार बझाङमा नौ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् ।

डोटीमा १६ जनाको मृत्यु भएको छ । बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको छ । बझाङमा २० सहित २२ जना बेपत्ता रहेका प्रहरीको तथ्यांङकले देखाएको छ । बेपत्ता हुनेमा बैतडी, कैलालीमा एकरएक जना छन् । यस्तै १७ जना घाइते भएका छन्। घाइते हुनेमा डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा एकरएक जना छन्। विपदका घटनामा बाजुरा, डोटी, डडेल्धुरा, बझाङमा गरी एक सय बढी पशु चौपाया पनि मरेका छन् ।

पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका दुई सय १६ घरधुरी डुबानमा परेकोमा चार सय ३० जनाको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । बाढीपहिरोकै कारण करोडौंको बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण यस प्रदेशमा भएको धनजनको क्षतिको प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले निरीक्षण गरेको छ। अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका सबै राजमार्ग अवरुद्ध भएका थिए।
केही सडक खुलेका छन् भने केही अवरुद्ध नै छन् केही जिल्लामा विद्युत र सञ्चार सेवा सुरु भए पनि केही जिल्लामा अवरुद्ध नै छ ।

 

प्रतिक्रिया दिनुस