नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक रूपमा हवाई सेवा शुरू गरेपछि त्यहाँका नागरिकलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा हालै गएको बाढी पहिराले विभिन्न जिल्लामा आवागमन समेत बिच्छेद भएकाले जहाज चलाएर नागरिकलाई सेवाप्रदान गर्न निर्देशन दिएसँगै अहिले त्यहाँ नियमित रूपमा जहाज सञ्चालन भइरहेको छ ।

नियमित रूपमा जहाज सञ्चालन भएपछि अहिले त्यहाँका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङबाट कैलाली आउन र कैलालीबाट पहाड जानका लागि निकै सहज भएको स्थानीय धनन्जय जोशीले बताए । यति मात्र नभई अन्य निजी क्षेत्रका जहाजभन्दा नेपाल वायुसेवा निगमले आफ्नो भाडामा केही सुलिएत दिएको छ । धनगढीदेखि डोटी दुई हजार ६ सय १५ र डोटीबाट धनगढी दुई हजार ५ सय १५ भाडादर कायम गरिएको छ ।

यसै गरी धनगढीदेखि बझाङ तीनहजार ९ सय ९५ र बझाङदेखि धनगढी तीन हजार ८ सय ९५ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सञ्जाल अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाई सेवा शुरू गरिएकोे र अब यो नियमित रहने मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुस