काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृतिका कारण देशमा स्थिरता कायम हुन नसकेको आरोप लगाएका छन्। चितवनमा आयोजित अन्तक्रियामा प्रचण्डले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओलीको कारण अस्तित्वविहीन हुन पुगेको बताए। ओलीले जनयुद्धमार्फत भएका परिवर्तनलाई उल्ट्याउन खोजेपछि आफू सडकमा आएको उनको भनाइ थियो।

‘मैले नै गठबन्धनको प्रस्ताव राखे। राजनीतिक स्थायित्व चाहिन्छ भनेर। पार्टीभित्र एउटा यस्तो प्रवृति देखा पर्‍यो जसले लडेर ल्याएको व्यवस्थालाई उल्ट्याउनका निम्ति उद्दत भयो। एउटा निरंकुश एकाधिकारवादी। हामी सडकमा जानुपर्ने अवस्था भयो, प्रचण्डले भने।’

उनले दुई कम्युनिस्ट पार्टी एकता भइ स्थिरता कायमको वातावरण बने पनि ओली प्रवृतिका कारण सबै धरापमा परेको बताए। संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको प्रचण्डले बताएका छन्। ‘संविधान र राजनीतिक दस्तावेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन, उनले भने।’ स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उनले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोस रूपमा प्रगति हुन नसकेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुस