बैतडी : महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका बैतडीको शिवनाथ गाउँपालिका १ का ८ वर्षीय सन्दीप साउँदको अवस्था अज्ञात रहेको छ। बुधबार साँझ शिवनाथ गाउँपालिका १ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।

सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि फेला पर्न नसकेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ।
डुंगा दुर्घटनामा परि मृत्यु भएका शिवनाथ १ कै १३ वर्षीया मिना साउँदको भने भारतमै अन्तेष्टि गरिएको छ।

बिहीबार बिहान महाकाली नदीको पारी भारतमा मिनाको शव फेला परेको थियो। महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको बिहीकार भारतमै आफन्तले अन्तेष्टी गरेको प्रहरीले जनाएको छ।१० जना सवार डुंगा पल्टिँदा ८ जना पौडिन सफल भएका थिए भने मिना र सन्दीप बेपत्ता भएका थिए। दशैंको पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले बुधबार साँझ भारततिर जान लागेका बेला डुंगा दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुस