पाकिस्तानको सिन्ध प्रान्तको कोत्रीमा रहेको हनुमान देवी माता मन्दिरबाट अज्ञात समूहले सुन र चाँदीका सामानसहित हजारौं पैसा चोरी गरेका छन् । उनीहरुले मन्दिरलाई अपवित्र बनाएको स्थानीय हिन्दु धर्मावलम्बीहरुले आरोप लगाएका छन् । स्थानीयले कोत्री प्रहरी कार्यालयमा दिएको निवेदनमा संविधानको धारा २९५ तथा पाकिस्तानको पेनल कोडका अन्य प्रावधानअनुसार दोषीमाथि कारबाहीका लागि माग गरिएको छ।

सिन्धु नदी किनारमा रहेको मन्दिरमा बिहीवार यो घटना भएको स्थानीय समा टेलिभिजनले जनाएको छ। पाकिस्तानमा हिन्दु मन्दिरहरु भत्काउने तथा हिन्दु धर्मावलम्बीहरुमाथि कुटपिट हुने गरेका घटना सार्वजनिक भइरहेका बेला मन्दिरमा चोरी भएको घटना सार्वजनिक भएको हो। मन्दिरको छानामा चढेर चोरहरुले मूर्तीमा राखिएका गहना चोरेका थिए। स्थानीयहरुका अनुसार कोत्रीमा रहेका मन्दिरमा चोरी भएको पहिलो घटना भने होइन।

गत जनवरीमा पनि यही मन्दिरमा चढाइएका सुनका सामान चोरी भएका थिए। कोत्रीमा रहेको गुरु वाल्मिकी मन्दिरबाट पनि हजारौं रुपैयाँ पर्ने सुनको श्रीपेच चोरी भएको थियो। मुख्यमन्त्री मुराद अलि शाहलाई घटनाबारे प्रशासनले जानकारी दिएको पञ्जाबको सिन्धस्थित मुख्यमन्त्री कार्यालयले जनाएको छ। चन्दा बाकसमा राखिएका बीसौँ हजार रुपैयाँ, सुनचाँदीका गरगहना चोरी भएको जानकारी प्राप्त भएको मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घटनापछि शुक्रवार पाकिस्तानको अल्पसंख्यकसम्बन्धी आयोगका अध्यक्ष चेलाराम केवलानी र सिन्धस्थित अल्पसंख्यक मामिला मन्त्री ज्ञान चन्द एसारानीले प्रहरीलाई जानकारी दिएका थिए। उनीहरुको जानकारीका आधारमा प्रहरीले एफआइआर दर्ता गरेर अनुसन्धान शुरु गरेको बताइएको छ।

प्रतिक्रिया दिनुस