काठमाडौँ — नेपालमा सेयर बजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजार पुगेको छ । यो मंगलबारसम्मको तथ्यांक हो । मंगलबारसम्म ४६ लाख ६ हजार ८ सय २७ जना लगानीकर्ताले सेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । भदौ पहिलो सातासम्म यस्तो संख्या ४० लाख ८७ हजार थियो । उल्लिखित तथ्यांकका आधारमा गत भदौयता सेयर बजारमा ५ लाख १९ हजार लगानीकर्ता थपिएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय मात्र थियो ।

मंगलबारसम्म ७ अर्ब ३९ करोड १८ लाख ६९ हजार ६ सय ३१ कित्ता सेयर डिम्याट भएको सीडीएससीको तथ्यांक छ । पछिल्ला साता सेयर कारोबारमा उतारचढाब चलिरहेपनि प्राथमिक सेयर (आईपीओ)मा लगानी गर्ने लगानीकर्ता बढिरहेको डिम्याट खाता संख्या बढ्नुले पुष्टि हुन्छ । त्यसमध्ये विद्युतीय प्रणाली (अनलाइन)मार्फत सेयर कारोबार गर्ने लगानीकर्ता संख्या झन्डै ११ लाख पुगेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुस