कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंले अबको एक साताभित्रै धनगढीमा रासायनिक मल पठाउने तयारी गरेको छ। एक साताभित्रै कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाममा पुग्ने गरी डीएपी मल पठाउने तयारी भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी गराए।

सरकारी अनुदानको मल पाउन निकै कठिन भएकाले समयमा मल आपूर्ति गर्न समस्या भएको कम्पनीले जनाएको छ। विश्व बजारमा कच्चा पदार्थको मूल्य अस्वभाविक रुपमा बढेकाले ३ पटक बोलपत्र आह्वान गर्दा पनि लामो समयदेखि आपूर्तिकर्ताको रुपमा काम गर्दै आएका कम्पनीले समेत अनिच्छा देखाएकाले समस्या भएको बताइएको छ। गत वर्ष ३ सय ४१ रुपैयाँका दरले खरिद गरेको मलको मूल्य यसपटक ९ सय ५५ रुपैयाँले वृद्धि भएपछि सहज रुपमा मल आयात गर्न समस्या भएको समेत सूचना अधिकारी पोखरेलले बताए। ‘हरेक वर्ष १२ लाख २० हजार मेट्रिकटन मल आवश्यक पर्ने देखिएकोमा ३÷४ लाख मेट्रिकटन मल खरिदका लागि १५ अर्ब मात्र बजेट हुँदा मागअनुसार मल आपूर्ति गर्न नसकिएको हो’, सूचना पोखरेलले भने, ‘युरिया र पोटासको समस्या नभएपनि डीएपी मल भने अहिले अभाव नै छ। यसका लागि भैरहवामा मल आउने वित्तिकै सुदूरपश्चिम मल पठाउने तयारी भइरहेको छ।’

४० प्रतिशतले मलको माग बढेकाले आपूर्ति गर्न बजेट अभाव रहेको कम्पनीको भनाई छ। सबै किसानलाई सहज रुपमा मल आपूर्ति गर्न ४० अर्ब बजेट आवश्यक पर्छ तर हामीसँग १५ अर्ब मात्र बजेट छ’ कृषि सामग्री कम्पनी लिमिटेड काठमाडौंका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले भने। विदेशबाट आयात गरिएको मल समान रुपमा वितरण गर्ने तयारी समेत भइरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुस