बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । जिल्लाका ८४ वडामा पनि पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए ।

उनले भने, “अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ ।” हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन , पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन् ।

यस्तै दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन् । यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते गर्ने छ । प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ । एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुस