दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकर गाउँमा जनगणना सुरु गर्न सकिएको छैन । विहिवारदेखी देशभर जनगणना सुरु भएपनि अतिक्रमित नेपाली भूमि कालापानी नजिकको क्षेत्र छाङरु र तिंकर गाउँमा शनिबारसम्म जनगणना सुरु नभएको हो ।

जनगणनाका लागि गणक पठाउन समस्या भएकाले जनगणना गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । ब्याँस क्षेत्र जाँदा भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतले अनुमति नदिदाँ गणकलाई फिल्डमा पठाउन नसकिएको जनगणना अधिकृत पदमराज पाण्डेले बताए । उनले भने,–‘भारतको छियालेक भन्दा माथिल्लो क्षेत्र नोटिफाइड एरिया घोषित गरिएकाले उक्त क्षेत्रमा यात्रा गर्दा अनिवार्य पास (अनुमति) माग्ने गरेको छ।’ ब्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने पाँच गाउँहरु कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँमध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ ।

भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपाल सरकारको प्रशासनिक अधिकार कायम भएपनि गाउँसम्म जाने बाटो नहुदा जनगणना गर्न समस्या भएको बताइएको छ । अतिक्रमित क्षेत्रमा समेत जनगणना गर्ने दाबी गरिरहेको सरकारले नेपालकै भोगचलन र स्वामीत्तमा रहेको गाउँहरुमा समेत जनगणना गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ का गाउँहरु तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी राजेन्द्र कार्कीलाई दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्र्तगतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकका लागि भारतीय बाटो प्रयोग गर्न अनुमति मागेको भएपनि हाल सम्म उक्त पत्रको कुनै जवाफ नआएको बताइएको छ । दार्चुला जिल्लाभरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म ६१ वटै वडामा जनणना गर्नका लागि १८३ गणक खटाइएको छ । अरु वडाहरुमा कार्तिक २३ गते नै गणकहरु फिल्डमा गएको भएपनि व्यास गाउँपालिका वडा नम्बर १ मा गणक नपुगेको बताइएको छ ।

ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकहरुलाई भारतीय प्रशासनले अनुमति दिइरहेको भएपनि गणकलाई अनुमति दिन भारतीय प्रशासनले आनाकानी गरिहेको बुझिएको छ । केही दिन भारतको अनुमती पर्खेर भारतले अनुमति नदिए नेपालको बाटोको अवस्था बुझेर गणकसंग एक जना पठाएर उक्त क्षेत्रमा जनगणना गरीने जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेले बताउनुभयो । नेपालतर्फबाट व्यास गाउँपालिका वडा नम्बर १ सम्म पुग्ने बाटो निकै्र जोखिमपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुस