कैलालीको टीकापुर पार्कमा तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले वनभोज खान जानेहरूको भीड लाग्न थालेको छ । टीकापुर आसपासका क्षेत्रहरूबाट पार्कमा वनभोज खान पुग्नेहरूको साधन भनेको ट्र्याक्टर हो । ट्र्याक्टरमा भरिभराउ भएर आन्तरिक पर्यटकहरू पार्क पुग्ने गरेका छन् ।

प्रत्येक वर्ष तिहार सकिएसँगै आन्तरिक पर्यटकको भीड लाग्ने उक्त पार्क पुग्ने पर्यटकहरूको यात्रा भने निकै जोखिमपूर्ण हुने गरेको छ । यो समयमा पार्कमा दैनिक पाँच हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले अवलोकन गर्दै आएका छन् । नगरपालिकाले अहिलेको याममा पार्कबाट करिब १० लाखभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । कैलालीको जानकी गाउँपालिका–६ का सुवर्ण चौधरी तिहारको समयमा घर आएका थिए । उनले गाउँकै साथीहरूसँग मिलेर देउसीभैलो खेले । देउसीभैलोबाट सङ्कलन भएको पैसाले उनी र उनका साथीहरू वनभोज खान तथा अवलोकनका लागि भन्दै टीकापुर पार्क पुगे । ३० देखि ४० समूहसम्मका लागि पार्कले धान्छ । ट्र्याक्टरको ट्रलीमा डिजे साउन्ड बजाउँदै पार्कसम्मको जोखिमपूर्ण यात्रामा उनीहरू पार्क त पुगे तर डिजेको साउन्डले समुदायमा पारेको असरको उनीहरूलाई कुनै प्रवाह भएन ।

‘एकदुई दिनमा काम गर्न बाहिर जानुपर्छ । सबै साथीहरू मिलेर खेलेको देउसीभैलोबाट सङ्कलन भएको रकमले एक दिन रमाइलो गर्न भनेर टीकापुर पार्क पुगेका हौँ,’ सुवर्णले भने, ‘हामीले गरेको यात्रा निश्चयरुपमा पनि जोखिमपूर्ण छ । बस भाडामा लिनका लागि पैसा पुग्दैन र ट्र्याक्टरमा जति रमाइलो अरू सवारीसाधनमा हुँदैन ।’ यो समस्या सुवर्णको मात्रै होइन, अहिले दैनिक पचासदेखि एक सयभन्दा बढी ट्र्याक्टर आन्तरिक पर्यटक बोक्नमै व्यस्त छन् । ट्र्याक्टरमा साउन्ड बजाउँदै होहल्ला गर्दै, नाच्दै जान पाइने र सस्तो पनि हुने भएकाले ट्र्याक्टर सबैको नजरमा छ तर त्यसको नराम्रो पक्षमा कसैको पनि ध्यान पुग्न सकेको छैन । कारणवश कुनै दुर्घटना भयो भने सबैभन्दा बढी क्षति ट्र्याक्टरमा सवार गर्नेहरूकै हुने स्थानीयवासी बताउँछन् ।

स्थानीयवासी शेरबहादुर साउँदको घर पार्क जाने सडक छेउमै छ । हिजोआज आन्तरिक पर्यटकहरूको चहलपहल हुन थालेपछि राति राम्रोसँग सुत्नसमेत नपाएको उनको गुनासो छ । साउँदले यात्रा गर्नेहरू जोखिममा रहेको र उनीहरूले बजाउने साउन्ड सिस्टमले समुदायमा निकै असर पारेको बताए । ‘ट्र्याक्टरमा मान्छेभन्दा बढी साउन्डका स्पिकर राखिएका हुन्छन् त्यसले समुदायमा ध्वनि प्रदूषण बढाएको छ,’ शेरबहादुरले भने, ‘यसले बिहान ५ देखि राति १० बजेसम्म नराम्रोसँग असर गर्दै आएको छ ।’

टीकापुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी देवेन्द्रबहादुर साउँदले वनभोजमा ट्र्याक्टर प्रयोग गरेर आउने पर्यटकहरूलाई व्यवस्थापन गर्न निकै कठिन भएको बताए । ‘टाढाबाट मानिसहरू घुम्नका लागि आएका हुन्छन् । अब ट्र्याक्टरबाट झारेर ट्र्याक्टर खाली पठाउने हो भने आएका यात्रुहरूलाई कसरी पठाउने रु’ उनले भने, ‘लाइसेन्स र ब्लुबुक नभएकाहरूलाई चिट काटेर पठाउने गरेका छौँ । यतिले मात्र दुर्घटनाको जोखिम घटाउने अवस्था भने छैन । उहाँले ट्र्याक्टरमा एकजनाभन्दा बढी चढ्नै नमिल्ने व्यवस्था भए पनि धेरै कुरा व्यावहारिक रुपमा पनि हेर्नुपर्ने हुन्छ ।’

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले टीकापुर पार्क रोडको भीडभाडलाई दृष्टिगत गरी नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त जाँच गर्न थालेको बताए । उनले समुदायस्तरमा ठूलो आवाजमा साउन्ड बजाएको पाइए कारबाही गर्न निर्देशन दिएको बताउँदै टीकापुर क्षेत्रमा सडकको अवस्था पनि राम्रो नभएको र सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुहरू हुने भएकाले दुर्घटनाको जोखिम बढेको बताए । दुर्घटनाको जोखिम कम गर्नका लागि योजनाअनुसार नै काम गर्दै आएको प्रहरीको जिकिर छ । अहिले वनभोज खान जानेहरूको अवस्था देख्दा त्यसले समाजको वातावरणलाई समेत खलल पार्ने काम भइरहेको त्यहाँका बासिन्दा बताउँछन् । बजार क्षेत्रमा झन चर्को आवाजका साउन्ड बजाउने र होहल्ला बढी गर्ने गरेको स्थानीय व्यापारीको गुनासो छ । त्यसै पनि ट्राफिक प्रहरीको निगरानीमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुस