 कञ्चनपुर, ९कार्तिक
कञ्चनपुर, ९कार्तिक
कञ्चनपुरका आरक्षपीडितले वनको जमिन कब्जा गरेका छन । अढाई दशक अघि विस्थापित पीडितहरुले कृष्णपुर नगरपालिका १ पहरिया स्थित जयशंकर सामुदायिक वनको जमिन कब्जा गरेका हुन । गत बुधबार आरक्षपीडितले सामुदायिक वनको जमिन कब्जा गरेर बसेका छन ।
आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले २४ बर्षदेखि सरकारले पुर्नस्थापना गर्छु भन्दै ठग्दै आएपछि आफुहरुले बाध्य भएर कुकाठवाला वनको जमिन कब्जा गरेर बसेको बताए । उनका अनुसार झण्डै अढाई सय बढी पीडितहरु टहरा बनाएर बसेका छन । वनमा बसेका पीडितहरुले धर्ना समेत दिएका छन । उनीहरुले गत २२साउन ०८२देखि महेन्द्रनगर, वाणी, ढक्कामा एकसाथ धर्ना दिएका थिए ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले पुर्नस्थापनाका लागि जिल्लादेखि केन्द्रसम्म सघर्ष गर्दा गर्दैपनि आफुहरुको न्यायका लागि कसैले चासो नदेखाएपछि बाध्य भएर जहाँ खाली छ, त्यही बसेको बताए । पीडितहरुले अब कुनैपनि हालमा स्थान नछाड्ने चेतावनी दिएका छन ।
संविधानमा हरेक नागरिकलाई भूमि तथा बसोबासको अधिकार भएपनि तत्तकालिन सरकारले आफुहरुको उठिबासी गरेकाले अहिले आफ्नो अधिकारका लागि आफै लडेको बताएका छन । ०५८सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरुको हालसम्म पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन । जयशंकर सामुदायिक वनका अध्यक्ष दामोदर भण्डारीद्वारा हस्ताक्षरित गरिएको सुचनामा २४घण्टाभित्र वनको जमिन खाली गर्न चेतावनी दिएका छन । निकुञ्जबाट विस्थापितहरुको पुर्नस्थापनाका लागि हालसम्म ३४आयोग गठन हुँदा समेत पीडितको समस्या जस्ताको तेस्तै छ । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विश्षेश्वर प्रशाद जोशीले सरकारी सामुदायिक वनको जमिन कब्जा गरेर बस्न नपाईने बताए ।


 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    