बैतडी,२८ कात्तिक। बैतडी लगातार दोस्रो जित निकाल्दै वाई वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भएको हो । यसअघि शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई ९२ रनले हराएको थियो ।

बझाङले दिएको १०९ रनको सामान्य लक्ष्य बैतडीले १९ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । जसमा नरेन भट्टले अर्धसतकीय पारि खेल्दै नटआउट ५० रन जोडे । सञ्जय बोहरा एक्लैले ४ विकेट झारेपनि जित हात पार्न नसक्दा बझाङ लिग चरणबाटै बाहिरिएको स्कोरर खेमराज भट्टले जानकारी दिए ।

त्यसअघि महेन्द्रनगरको खुलामञ्च मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बझाङ २७ दशमलव ५ ओभरमा १०८ रनमा अलआउट भएको थियो । जसमा गहेन्द्र भण्डारीले २० रन हिर्काए । बैतडीका कप्तान खडकबहादुर बोहरा, गजेन्द्र बोहरा र प्रदीप चन्दले २÷२ विकेट लिए । अर्धसतक हिर्काएका बैतडीका नरेन भट्ट म्यान अफ द म्याच चुनिएका छन् । एक खेल अगावै सेमिफाइनल पुगेको बैतडीले उपाधि जित्ने लक्ष्य राखेको बैतडी टिमका प्रशिक्षक दीपक बोहराले बताए ।

कञ्चनपुरमा कात्तिक २४ गतेदेखि जारी प्रदेशस्तरिय छनौट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको छ । छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमूनिको टोली बनाइने भएको छ । उक्त टोली उन्नाइस वर्षमूनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा अगामी मंसिर ४ गतेदेखि उन्नाइस वर्षमूनिको राष्ट्रिय हुदैंछ ।

प्रतिक्रिया दिनुस