बैतडी ।बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको थियो ।
जिपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका जिप चालक डडेलधुराका ४० वर्षीय दीपक मालीको उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि मृतकको सङ्ख्या ६ पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु हुनेहरूमा सबै दशरथचन्द –६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यस्तै दुर्घटनामा परी दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७०० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । द्रुत गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।