कञ्चनपुर मंसिर ९ । कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूगोलतर्फ उम्मेदवारी दिन लागेका हुन् ।

२०४६ सालदेखि राजनीतिमा सक्रिय  लागेका बेदकोट नगरपालिका मेयर बिजयी भए पछि चन्द मिलनसार र सरल सहयोगी भावना भएका  विकासवादी मेयरका रुपमा चिनिन्छन् । उनी विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन् । २०५६ सालदेखि एमाले युवा संगठन युवा संघ नेपालमा आवद्ध भए । युवा संघको दुई कार्यकाल सचिव र जिल्ला अध्यक्ष भएर संगठन निर्माणमा जुटेका चन्द युथ फोर्सको नेतृत्व गर्दै युवा संघ नेपालको केन्द्रिय सचिवसमेत भए ।

२०६६ सालदेखि पार्टीको सचिवालय सदस्य भएर काम गरेका चन्द ०७५ सालमा पार्टीको सुदूरपश्चिम प्रदेश सदस्य भए । बेदकोटका नगर प्रमुख (मेयर) चन्द नेपाल नगरपालिका संघको केन्द्रीय समितिको सचिवालय सदस्य, अन्तर सरकारी बित्त परिषद्को सदस्य पदमा रहेर काम गरिरहेका छन् ।

उनले कञ्चनपुरमा सरल सहयोगी भावना भएका विकास प्रेमी मेयरको परिचय बनाएका छन् । युवा पुस्तालाई नेतृत्व गर्न दिनुपर्ने उनी बताउँछन् । ‘युवाले नेतृत्व गर्न चाहन्छ, हस्तक्षेप होइन,’ चन्दले भने, ‘एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अहिलेको नयाँ पुस्ताको तर्फबाट सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको छु ।’

एमाले महाधिवेशनमा युवामा आशा जोगाउने र पाकाहरुलाई पार्टी प्रति भरोसा दिलाउने उनी बताउछन । ‘राजनीतिकर्मीलाई हेरेर राजनीति भन्दा पर रहेको आम मानिसले ओहो, भनेर आकर्षित होस,’ उनले भने, ‘हामीले गरेको व्यवहार, काम र कार्यशैली अरुमा आशा, विश्वास जगाउने खालको होस । मेरो प्रयत्न त्यतै केन्द्रीत छ ।’

प्रतिक्रिया दिनुस