कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–८ पृथ्वीबस्तीमा रहेको शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले अनुदानमा आएको चिलिम भ्याट अर्थात चिस्यान केन्द्रको विधिवत रुपमा उद्घाटन गरिएको छ। शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै रिबन काटेर दुग्ध चिस्यान केन्द्रको उद्घाटन गरेका हुन् ।

वर्षौं देखि कृषकहरुबाट दुध संकलन गरी अन्यत्र लैजाने गरेको सहकारीले आफ्नै चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि अब निकै सहज हुने अध्यक्ष चक्रप्रसाद ओझाले बताए। अध्यक्ष ओझाले सहजता प्रदान गर्न मिल्क चिलिम भ्याट अनुदानमा सहकारीलाई उपलब्ध गराउने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको नेपाल लाईभष्टक ईनोभेसन आयोजना हरिहर भवन काठमाडौलाई धन्यवाद दिए।

यसअघि दुध संकलन गरी पुनर्वास सहकारीलाई बिक्री गर्दै आएको सहकारीले अब दुग्ध वितरण केन्द्र अत्तरियालाई बिक्री गर्ने व्यवस्थापक पुष्पराज ओझाले बताए। कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधि, शेयर सदस्य, समाजसेवी र बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुस