बैतडीः नेपाल –भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासनहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो । छलफलपछि दुबै देशका जिल्लाका अधिकारीहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुन सक्ने लागू औषधको कारोबार, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसंग जोडिएका घाटहरु व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भएको हो । यस्तै दुई देशका नागरिक एक अर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने ,सीमा क्षेत्रमा हुन सक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ । यसका साथै पूर्व भारतीय सेनामा कार्यरत व्यक्तिहरुलाई बैंकबाट प्राप्त हुने निरवृतीभरण लिने प्रक्रिया सहज गर्ने,आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमा नाका बन्द गर्ने लगायतका विषयमा छलफल भएको हो ।
भारतको पिथौरागढमा हिजो आयोजित उक्त बैठक पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा। आशिष चौहानको पहलमा सम्पन्न भएको हो । बैठकमा नृपालका तर्फबाट बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।