बझाङ–बझाङको छबिसपाथिभेरा गाउँपालिकामा घरघरमा स्वच्छ खानेपानी पुगेको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम थालेका थिए । खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका स्थानिय अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका छन् । घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ ।

छडोखोला खोरी खानेपानी सरसफाइ योजना उपभोक्ता समितिका सहसचिव बसन्ती बुढा महिला जागरुक भए जस्तासुकै काम सहजै सम्पन्न गर्न सक्ने बताउँछिन् । गाउँमा कुनै योजना आउँदा उपभोक्ता समितिमा पुरुषहरु रहने तर महिलाहरु भने छड्के साक्षीमात्रै बन्ने प्रचलन रहेको उनको गुनासो छ । यस योजनाको उपभोक्ता समितिमा भने महिलाहरु बसेको र केही पुरुषहरुलाई मात्रै समितिमा समावेश गराइएको समितिका अध्यक्ष सुनिता बुढाले बताइन् । अहिले गाउँमा एक घर एक धारा निर्माण भएको छ । छबिसपाथीभेरा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानीको सुविधा भएपछि गाउँमा नाचगान गरेर खुसीयाली मनाइएको छ ।

महिलाहरुकै सहभागितामा ठूलो योजना सम्पन्न गरेको भन्दै गाउँपालिकाले उनीहरुलाई एक लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए । छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर सातलाई पूर्ण सरसफाइ टोल समेत घोषणा गरिएको अध्यक्ष धामीले बताए । गाउँपालिकालाई पूर्ण सरसफाइ पालिका घोषणा गर्ने निति तथा कार्यक्रम अन्तरगत वडा नम्बर १ देखि ६ सम्म घोषणा भइसकेको छ । यस अभियानमा पालिकाका सबै कर्मचारी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेवकदेखि विद्यार्थी समेतको सहभागिता रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुस