बैतडी । बैतडीमा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई सरकारले राहत वितरण गरेको छ । गत कात्तिक पहिलो साता पहिरोमा परी मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सुर्नया गाउँपालिकाका एक परिवारलाई गरी ७ लाख रुपैयाँ राहत वितरण गरिएको हो ।

पहिरोबाट परेर शिवनाथमा एकै परिवारका दुई गरी तीन र सुर्नयामा एकजनाको गरी चारजनाको मृत्यु भएको थियो । शिवनाथ ६ बसेडीका एउटै परिवारका भएकाले ३ लाख भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको परिवारलाई दुई लाख राहत उपलब्ध गराइएको हो। यस्तै सुर्नया गाउँपालिका–५ रामकी बरायलकी परुदेबी महराको परिवारलाई २ लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चारैजनालाई सरकारका तर्फबाट राहतस्वरूप सात लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। सरकारले प्रत्येक मृतकका परिवारलाई दुई लाखका दरले राहत दिने र सोही परिवारका अरू सदस्यको पनि मृत्यु भएमा थप एक–एक लाख दिने घोषणा गरेको थियो। उनीहरू सबैलाई घरमै पुगेर राहत प्रदान गरिएको सूचना अधिकारी भारतीले बताए। गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अबिरल वर्षाका कारण ४ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमालको क्षति भएको छ ।

प्रतिक्रिया दिनुस