नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिका पदाधिकारी र सदस्यको सङ्ख्या बढाएको छ। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले प्रदेशका पदाधिकारी र सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए। माओवादीको प्रदेश सम्मेलन २५ मंसीरमा शुरू हुँदै छ।

माओवादी स्थायी समितिले बैठकले प्रदेश पदाधिकारीको सङ्ख्या नौ पुर्‍याएको छ। यसअघि सात पदाधिकारी रहने व्यवस्था थियो। अब अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्ष एक हुनेछन्। त्यस्तै, प्रदेश सदस्यको सङ्ख्या पनि फरक(फरक हुने भएको छ। यसअघि बढीमा ७५ जना हुने व्यवस्था थियो। प्रदेश निर्वाचन क्षेत्रका आधारमा प्रदेश सदस्यको सङ्ख्या तय गरिएको प्रवक्ता महराले जानकारी दिए।

उनका अनुसार, अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५ र गण्डकी प्रदेशमा २२९ सदस्यीय प्रदेश समिति हुनेछ। त्यस्तै, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछन्। यससँगै माओवादी स्थायी समिति बैठकले महिला विभाग गठन गर्ने निर्णय गरेको छ। विभागको प्रमुखमा पम्फा भुसाललाई तोकेको छ। सदस्य भने पछि चयन गरिने प्रवक्ता महराले बताए। माओवादीमा प्रवेश गर्नेहरूसँग छलफल र उनीहरूका विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ। देव गुरुङको नेतृत्वमा गठन गरिएको कार्यदलमा गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य छन्।

प्रतिक्रिया दिनुस