आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्ति लाभान्वित भएका छन्। सबै स्थानीय तहमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।
प्रत्येक पालिकाका केन्द्रमै १० दिनसम्म टोली बसेर फोटोसहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँँलले जानकारी दिए। बिदाका दिन समेत गरेर दुई चरणमा सञ्चालन भएको उक्त अभियानअन्तर्गत मंसिर १६ देखि मंसिर २६ गतेसम्म पहिलो र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा कार्यक्रम सञ्चालन भएको थियो।
पहिलोमा डिलाशैनी, सिगास, पञ्चेश्वर गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिका र दोस्रोमा दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन भएको हो। उक्त कार्यक्रममा सबैभन्दा बढी पुर्चौडीमा १ हजार २३८ र सबैभन्दा कम पञ्चेश्वरमा ११६ जनाले फाटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ। यस्तै पाटनमा १ हजार सात, जिल्ला प्रशासनमा ८९२, मेलौलीमा ५१४, दोगडाकेदारमा ४८५, डिलाशैनीमा ४५३, सुर्नयामा ४२८, शिवनाथमा ३३३, सिगासमा २८८ र निर्वाचन कार्यालयमा ५७ जनाले नाम दर्ता गराएका हुन्।
जिल्लामा रहेका १० स्थानीय तहमध्ये ९ मा उक्त कार्यक्रम सञ्चालन भएको र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा भने यसअघिदेखि नै प्रशासन र निर्वाचनमा सञ्चालनमा रहेको थियो। नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको थियो। सम्बन्धित पालिकाका तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइएका थिए।
यसबीच हाल पनि जिल्लाका ३ स्थानबाट नामावली संकलन कार्य भइरहेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौडीबाट नामावली संकलन कार्य भइरहेको छ। इलाका प्रशासनबाट पुस १९ गतेसम्म नामावली संकलन गरिनेछ भने प्रशासन र निर्वाचन कार्यालयको हकमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म सञ्चालन हुने जनाइएको छ। बैतडीमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन्।