फाइल ।

बैतडी : हत्याको आरोपमा बैतडीमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका  ७ का ३० वर्षीय रमेशसिंह ऐर रहेका छन्।

सिगास-८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको भन्दै रमेशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। रमेशलाई प्रहरीले घरनजिकैबाट पक्राउ गरेको जनाएको छ। गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मंसिर १६ गते मृत फेला परेका थिए। टाउको र शरीरमा घाउचोट देखिएकाले कटकको हत्या गरिएको भन्दै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो।

घटना भएको भोलिपल्टदेखि फरार रहेका रमेशमाथि प्रहरीले निगरानी बढाएको र आज पक्राउ गरेर ल्याएपछि उनले कटकलाई कुटपीट गरेको स्वीकारेका छन्। प्रहरी निरीक्षक शाहीले भने, ‘कालपोखरी मेलामा रमेश र कटकको भेट भएको र भेट हुँदा कटक बोहराले रमेश सिंह ऐरलाई दिएको ऋण माग्दा रुपैयाँको विषयलाई लिएर रातिको समयमा कटक र रमेशबीच वादविवाद झगडा भएको कुरा बुझिन आएको छ।’

इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका रमेशमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

प्रतिक्रिया दिनुस