जिल्ला अधिवेशन नजिकिएसँगै नेकपा एमाले डडेल्धुराको नेतृत्वमा पनि चर्चा सुरु भएको छ। नेकपा एमालेमा अध्यक्षका लागि ४ जनाले आकांक्षी देखिएका छन्। यही पुस २३ गते हुन गइरहेको एमाले जिल्ला अधिवेशनका लागि ४ जनाले दाबी गरेका हुन्।
एमाले डडेल्धुराका वर्तमान अध्यक्ष प्रकाश साउद, अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही, प्रदेश कमिटी सदस्य तथा अधिवक्ता पदम पालसहित ४ नेता अध्यक्षमा आकांक्षी छन्।

अध्यक्ष साउद आफूसहितको पुरानै कमिटीलाई मान्यता दिने तथा सर्वसहमतिका लागि छलफल गरिरहेका छन्। ‘मसहित अध्यक्षका लागि १२–१३ जनाको दाबी छ, देशभर सहमतिबाटै नेतृत्व चुनिएका छन्,’ उनले भने, ‘जो यो बहालवाल कमिटी छ केही मान्छे थपघट बाहेक पूरै यसै कमिटीलाई एकपटकलाई फेरि जिम्मेवारी दिनुपर्ने मेरो अनुरोध हो।’

अध्यक्ष साउद एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी नजिकका नेता मानिन्छन्। तर, उनलाई अध्यक्ष दिने पक्षमा युवा नेताहरू देखिएका छैनन्। अर्का अध्यक्षका दावेदार सदरमुकामको अमरगढी नगरपालिकाका नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य युवा नेता ओझा हुन्। उनले डडेल्धुरा क्यापस डडेल्धुराका पूर्वस्ववियु सभापति तथा एमाले नगर अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

उनी पूर्व(सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नजिकका नेताको रूपमा चिनिन्छन्। यस्तै युवा संघका केन्द्रीय उपाध्यक्ष युवा नेता शाहीले पनि आफ्नो अध्यक्षमा नै दाबी रहेको बताए। अब युवाहरुले मात्र पार्टी सञ्चालन गर्न सक्ने भएकाले आफनो दाबी नेतृत्वकै लागि भएको बताए। उनले भने, ‘अब युवालाई पार्टी सञ्चालनका लागि बुढापाखाहरूले सुझाव सल्लाह दिने गरी बस्नुपर्छ। मेरो दाबी अध्यक्षमै हो।’ उनी केन्द्रीयस्तरमा महेश बस्नेत तथा मूल नेतृत्वनिकट मानिन्छन्।

एमाले प्रदेश कमिटी सदस्य अधिवक्ता पदम पालले पनि आफ्नो अध्यक्षमा नै दाबी रहेको बताए। उनले भने, ‘१०(१२ वर्ष जिल्ला कमिटीको पदाधिकारी भएर राजनीति गरेको छु, म अध्यक्ष पदका लागि योग्य हो।’ अध्यक्ष पदका लागि नेता यज्ञराज अवस्थी पनि बाहिरी चर्चामा छन्। तर, उनले आफू अध्यक्ष पदको दाबेदार नरहेको प्रतिक्रिया दिए। उनलाई साउद अध्यक्ष बनाउने समयमा अध्यक्ष बनाउने प्रयास गरिएको थियो। यद्यपि, उनले बुवाको काजकिरियामा भएकाले अहिले आफू अध्यक्ष नहुने बताएका थिए।

जिल्ला अधिवेशका लागि डडेल्धुरामा १७ गते भित्र प्रतिनिधि छनोट गरिसक्ने गरी प्रक्रिया जारी रहेको युवा संघ केन्द्रीय उपाध्यक्ष शाहीले बताए। जिल्ला कमिटीका पदाधिकारी र सदस्यबाट आयोजक १ सय ४० जना स्वतः प्रतिनिधि हुनेछन्। जिल्लाका ५२ वटालाई युनिट मानेर ५० जना संगठित सदस्य बराबर तीन प्रतिनिधि छनोट हुनेछ भने एक महिला अनिर्वाय गरेको छ। दलिततर्फ भने ३० जना बराबर ३ जना प्रतिनिधि छनोट हुनेछन्।

प्रतिक्रिया दिनुस