काठमाडौँ — भाषा आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले अंग्रेजी भाषाले नेपालको पहिचान सिध्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘नेपाली समाजलाई आयातित चिन्तनले प्रभावित तुल्याएको छ,’ अध्यक्ष अवस्थीले भने, ‘अब केही वर्षपछि देश नेपाल पहिचानविमुख हुनेछ । किनभने हामी अंग्रेजी भाषा पढ्न र पढाउनमा खुसी हुन्छौं तर हाम्रो मुलुकको भाषा, संस्कृतिप्रति गर्व गर्दैनौं । अंग्रेजीले हामीलाई सिध्याउँछ ।’

नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘आदिवासी जनजाति पत्रकारको अवस्था र समावेशीकरण’ विषयक अन्तरक्रियामा आयोगका अध्यक्ष अवस्थीले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष अवस्थीले संयुक्त राष्ट्रसंघले सन् २०२२ जनवरीदेखि ‘आदिवासी भाषा दशक’ घोषणा गरेकाले त्यसका निम्ति नेपाल पक्ष राष्ट्र भएकाले मुलुकमा बोलिने भाषाहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका कार्यक्रम ल्याउन जरुरी रहेको बताए । ‘आयोगले प्रदेशको सरकारी कामकाजको भाषा सिफारिस गरेको छ,’ आयोगको कार्यबारे अध्यक्ष अवस्थीले भने, ‘त्यसका साथसाथै कुन प्रदेशमा के कति भाषा छन् भन्ने तथ्यांकसमेत सरकारलाई प्रतिवेदन बुझाइएको छ । पत्रकार र पत्रकारिता सबैको साझा भएकाले त्यसैअनुसार पत्रकार महासंघले ती भाषाहरूलाई आमसञ्चारमा समावेशीकरणका निम्ति पहल गर्न जरुरी छ ।’

यस्तै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले मुलधारका आमसञ्चार संस्थाले समावेशी नीति लागू गर्नुपर्ने बताए । ‘२०६२र६३ को राजनीतिक परिवर्तनपछि गोरखापत्र दैनिकमा जसरी विभिन्न भाषाका सामग्री प्रकाशन गर्दै आएको छ, त्यसैगरी अरु मिडियाले पनि समावेशी नीति लिन जरुरी छ,’ संविधानसभाका सभासदसमेत रहेका थापामगरले भने, ‘मिडिया हाउसहरूले समावेशी पत्रकार र समावेशी समाचार सामग्री दिन सक्नुपर्छ । त्यसनिम्ति पत्रकार महासंघ अग्रणी भूमिका आवश्यक छ ।’

प्रतिक्रिया दिनुस