फाइल ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका हुन् ।

उनले जनताको हित र कल्याणको लागि सुकुम्बासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचार, शोषण, उत्पीडन, विभेदविरुद्ध अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए । उनले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताए ।

‘अहिले हामी जुन राजनीतिक यात्रामा अघि बढेका छौँ, त्यो राजनीतिक यात्रालाई हामीले भनेका छौँ, जनतादेखि जनतासम्म । कसै कसैले त्यसलाई भन्ने गर्दछन्, चुनावदेखि चुनावसम्म । हामी भन्दैनौँ, किनभने हाम्रो उद्देश्य भनेको चुनाव होइन, हाम्रो लक्ष्य भनेको चुनाव होइन, हाम्रो उद्देश्य, लक्ष्य जनता हुन् । जनताका समस्याहरु हुन्, जनताका पीर मर्काहरु हुन् । युवाले भोग्नुपरेका समस्याहरु हुन्’ उनले भने । अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजीपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए ।

प्रतिक्रिया दिनुस