महेन्द्रनगर । कञ्चनपुरको मजगाउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका हुन् ।
नागरिक उड्डयन तथा प्राधिकरण विभागले आयोजना गरेको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलेले लामो प्रयास पछि विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । मन्त्री आलेले भने,–‘विभिन्न क्षेत्रबाट चालिएको पहल सम्बोधन गर्दे आगामी तिन वर्षमा विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।’मन्त्री आलेले ठेकेदारलाई आवश्यक गिट्टी, बालुवा उपलब्ध गराउन स्थानियतहलाई अनुरोध समेत गरेका छन् ।
तिनै तहका सरकारको लागत साझेदारीमा निर्माण गरिने विमानस्थलका लागी ४५ करोड ६६ लाख २४ हजार ७ सय १५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्टले यस क्षेत्रमा विमानस्थल सञ्चालनमा ल्याउन नगरपालिकाबाट आवश्यक सहयोग समेत गरिएको जानकारी दिए । दोधाराचादनी नगरपालिकाका मेयर वीर बहादुर सुनारले नगरपालिकाबाट आवश्यक सहयोग गरिएसँगै आगामी दिनमा पनि निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । सङ्घीय र प्रदेश सरकारले पनि विमानस्थल निर्माणमा आवश्यक थप सहयोग गर्न आग्रह गरे ।
विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेश बहादुर चन्दले ०७६ जेठ ७ गते सामाजिक सञ्जालमार्फत विमान स्थल पुनः सञ्चालनका लागी अभियान थालिएको स्मरण गराए । उनले तोकिएकै समयमा निर्माण सम्पन्न गरी जहाज उडाइनुपर्ने अपेक्षा गरे । कार्यक्रममा सुदूरपश्चिमका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामी, आर्थिक मामिला मन्त्री तारालामा तामाङ, पूर्व राज्य मन्त्री उर्वादत्त पन्त, पूर्व मन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।