महेन्द्रनगर । कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि सरकारले लागुगरेको स्मार्ट लकडाउन पालना गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दे मापदण्ड पालना गर्न आदेश जारी गरेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीसीको सिफारिस र गृह मन्त्रालयको पत्र अनुसार जिल्लामा १२ बुँदे मापदण्ड सहितको आदेश जारी छ ।

बुधवार (आज) राती १२ बजे देखि लागु हुने उक्त मापदण्ड अनुसार जिल्लामा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । यस्तै सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यान लगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने मापदण्ड जारी गरिएको छ । आदेशमा सबै आधारभूत तथा माध्यमित विद्यालयहरु माघ १५ सम्म शिक्षा मन्त्रालयको सूचना अनुसार बन्द गर्ने र विश्वविद्यालय, क्याम्पस, लगायतका सबै प्रकारका शैष्कि प्रतिष्ठानका पूर्वनिर्धारित सेमेष्टर र बार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जेड आकारमा बसाएर गर्नुपर्ने मापदण्ड जारी गरिएको छ ।

आदेशनुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरेको छ ।
यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ ।

अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाइए कानून बमोजिम कार्वाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।

No description available. No description available.

 

प्रतिक्रिया दिनुस