काठमाडौँ,१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कालापानी लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ । राप्रपाले शनिबार प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्ध रहेको बताएको छ ।

‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ। कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ,’ पार्टीका महामन्त्री भुवन पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धन मौन रहनु दु : खद् र रहस्यमय भएको विज्ञप्तिमा उल्लेख छ

राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपबारे भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुस